Laxman Biyogi
Writer, Jurnalist, and Musician in Kathmandu, Nepal
म रहरको पोको बोकेर सहर पसेको मान्छे, मेरा धेरै उत्कट चाहना, इच्छा, आकांक्षा र सपना थिएनन् । पढ्नु र सहरमा सामान्य जीवन जिउनु मेरो सपना थियो । तर, त्यही सपनाकाे अाँखिझ्याल पनि पूर्ण आकारमा ढाल्न सकिनँ । सहरका चाम्रा, राम्रा र हाम्रा सपनाकाे अँगालाेमा बेरिएर बाँच्नु नै मेरा लागि ठूलाे कुराे भयाे । म बाँच्नुको भोकले भौतारिएँ, लतारिएँ सहरका चाेक, सडक, गल्ली र विकसित मान्छेका भीडमा । भोगाइकाे घुम्ती टेकेपछि मभित्र एउटा मास्टर बन्ने चाहनाकाे मुना पलाएकाे थियाे । केही वर्ष म यही पेशासँग आवद्ध पनि भएँ । तर, यसले मलाई खुसी दिन सकेन ।
ममा सानै देखि लेख्ने साेख थियाे । यही साेखले मलाई विस्तारै अखबारका पानामा तान्दै लयाे । म आफ्ना अनुभूपति खन्याउन थालेँ । अनुभूतिका समीक्षाबाट सुरु भएकाे मेराे लेखाइ पत्रकारिताको अध्यारोतिर प्रवेश गर्न थाल्याे । मैले तेता अनुमानकै भरमा ढुंगा हान्दै गएँ । सिक्नु, सिकाइनु र जीवन भोग्नुको परिणामले ममा पत्रकारिताको पालुवा हुर्कँदै गयाे। म आज अाफूलाई अार्थिक पत्रकारिताकाे अारनमा हालेर तताउँदै छु, निश्चित अाकार दिन । अार्थिक पत्रकारितािभित्र पनि पूर्वाधार विकासकाे रिपाेर्टिङ मेराे रुचीकाे क्षेत्र बनेकाे छ । आफूलाई यही क्षेत्रमा समर्पित गर्ने जमर्काे गरिरहेको छु । मान्छे बाँचुन्जेल सिकिरहन्छ । मेराे झन्डै डेढ दशकाे पत्रकारिताले याे क्षेत्रकाे कखरा सिकायाे । म अब वाक्य लेख्न सिक्दै छु ।